चिनियाँ राष्ट्रपति सी जिनपिङ माओजतिकै शक्तिशाली

बेइजिङ १२ (एजेन्सी)

चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई थप अधिकार प्रदान गर्दै ‘नेतृत्वको केन्द्र’ घोषणा गरेको छ । राजधानी बेइजिङमा बसेको पार्टी प्लेनमले पार्टी महासचिव जिनपिङलाई थप अधिकार प्रदान गर्दै चिनियाँ क्रान्तिको नेतृत्व गरेका माओत्सेतुङसँग र चीनको आर्थिक क्रान्तिका सुरुवातकर्ता देङ स्याओ पिङकै हाराहारीमा पु¥याएको हो ।

सी जिनपिङ सन् २०१२ हु जिन्ताओपछि पार्टी महासचिव तथा राष्ट्रपति बनेका थिए । केही समयअघि उनी चिनियाँ जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत बनेका थिए ।

पार्टीको बैठकले सीलाई ‘कोर लिडर’का रुपमा प्रस्तुत गरेका छ । यो शब्दावली सन् १९८९ मा देङ स्याओ पिङले अध्यक्ष माओ, आफू, आफ्ना उत्तराधिकारी र चीनका पूर्व राष्ट्रपति जियाङ जमिनलाई प्रयोग गरेका थिए ।

आगामी सन् २०१७ को अन्त्यमा पार्टी कंग्रेसका लागि समेत प्लेनमले मार्ग प्रशस्त गरेका छ । चिनियाँ कम्युनिष्ट पार्टीको हरेक ५ वर्षमा पार्टी कंग्रेसको आयोजना हुने गर्छ । महासचिव शक्तिशाली हुने चिनियाँ कम्युनिष्टमा पार्टीमा सबैभन्दा शक्तिशाली निकायका रुपमा ७ सदस्सीय स्थायी समिति रहेको छ ।

हु जिन्ताओको समयमा ९ सदस्सीय स्थायी समिति रहेपनि पछि ७ सदस्सीय कायम गरिएको थियो । सी त्यसको पनि केन्द्रमा रहेका छन् । आगामी वर्ष हुने कंग्रेसले राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री ली खछ्याङबाहेक अन्य थप पाँच जनालाई स्थायी समितिमा छान्नेछ ।

यस्तै, चिनियाँ जनताबीच गरिएको एक सर्वेक्षणमा पनि ६३ वर्षीय सीलाई माओ जतिकै सम्मानित नेताका रुपमा रहेको देखिएको छ । आजको राजधानी दैनिकमा समाचार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया