जुम्लामा बढ्दैछ कम उमेरमा हृदयाघात हुने जोखिम, यस्ता छन् कारण

जुम्ला २४ चैत्र

चिकित्सकहरूले जिल्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौंले गरेको दुईदिने मुटुरोग शिविरमा वरिष्ठ डा. भगवान् कोइरालाले जुम्लामा सानै उमेरमा मुटुसम्बन्धी समस्या भएका धेरै बिरामी पाएको बताए। ‘शिविरमा सेवा दिइएका एक सय ६८ बिरामीमध्ये अधिकांश उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन्’, कोइरालाले भने, ‘दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान गर्ने कारणले दम र मुटुरोग धेरै देखियो।’ फोक्सो बिग्रिने समस्या पनि त्यत्तिकै रहेको उनले बताए।  शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिस गरिएको छ। सिफारिस भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा एक लाख रुपैयाँ बराबरको उपचार सहयोग हुने उनले बताए।

केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने उनले बताए। ‘हिमाली जिल्लामा ३०० शय्याको अत्याधुनिक भवन सञ्चालन भएको हेर्ने इच्छा छ’, उनले भने। यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्राथामिकता दिनुपर्ने उनको भनाइ छ।  शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए। मुटुरोग विशेषज्ञ कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो ।  शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा राखे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया