झण्डा महोत्सव माघ २० देखि

लहान, १८ माघ

राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ । ‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ ।
सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पदन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । प्रदर्शनले किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुने बताउँदै अध्यक्ष यादवले सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिने बताउनुभयो ।
पहिलोपटक आयोजना हुन लागेको महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, बाल मनोरञ्जनलगायत शिक्षामूलक कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ । महोत्सवमा ५० वटा विभिन्न कक्ष रहने छ । महोत्सवमा सूर्य चन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।
ठूलो परिमाणमा अवैध कपडा बरामद 
प्रहरीको टोलीले सिरहाको महेशबारीबाट रु तीन लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको टोलीले भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा बच्चाको ज्याकेट १०९ थान, टिसर्ट, कुर्ता, टोपी, पञ्जा, सुइटर, मौजालगायत रु तीन लाख पाँच हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।
बरामद भएका सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया