ठूला नोटमा प्रतिबन्धपछि भारतमा नगद अभाव

नयाँ दिल्ली ७ मंसिर

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा ठूला दरका नोट प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा समर्थन जनाउने मध्ये एक हुन्– विमल सोमानी । तर, ठूला नोट प्रयोगमा प्रतिबन्धको निर्णयपछि उत्पन्न नगद (तरलता) अभावको अवस्थाले सोमानी दुई सातादेखि घाटा बेहोर्न बाध्य बनेका छन् ।

उनको कम्पनी रकडुडे इम्पेक्सको बिक्री सातामा एक चौथाइले घटेको छ । नगद अभावका कारण उनको ‘सप्लाई चेन’ तहसनहस हुने अवस्थामा पुगेको छ ।

पैसा अभावका कारण इन्धन हाल्न नपाएर उनको ट्रक अलपत्र परेको छ । कामदारले पनि निःशुल्क सामान लोड गर्ने गरेका छैनन् । वितरकले पनि भुक्तानी गर्न सकेका छैनन् ।

मोदीले भ्रष्टाचार नियन्त्रणका साथै अवैध रकम निर्मूल पार्नका लागि यो कदम चालेका हुन् । तर, बजारमा वितरण भएको नगदको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको ५०० र १००० दरका नोट प्रयोगमा लगाइएको प्रतिबन्धले एसियाकै तेस्रो ठूलो अर्थतन्त्र तरलता अभावको अवस्था खेप्न बाध्य भएको छ ।

२० खर्बको अर्थतन्त्रमा उपभोक्ता खर्चको हिस्सा ५६ प्रतिशत रहँदै आएको छ । तर, थोरै संख्यामा रहेका साना नोट र नयाँ नोट पाउन संघर्ष गरिरहेको अवस्थामा उपभोक्ताहरू खर्च रोक्नका लागि बाध्य भएका छन् ।

सोमानीले समग्र सप्लाई चेन बिग्रिएको बताए । उनले भारतभर गरी १ सय ५० जनालाई रोजगारी दिँदै आएका छन् ।

सन् २०१७ को मार्चसम्मको वर्षमा नगद अभावको अवस्थाले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गत वर्षको ७.६ प्रतिशतबाट झन्डै ४.१ प्रतिशतले कमी ल्याउने अनुमान गरिएको छ ।

अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनाको अवधिमा अर्थतन्त्रमा गिरावट आउन सक्ने विषयलाई पनि नकार्न नसकिने ब्रोकरेज एम्बिट क्यापिटलले जानकारी दिएको छ ।

चालू तैमासमा कर्पोरेट सञ्चालन नाफामा पनि झन्डै ४० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ ।

ट्याक्सी चालक र सडकमा सामान बिक्री गर्नेदेखि ठूला उपभोक्ता सामानका फर्महरूले नोटमाथि प्रतिबन्ध लागेको पहिलो सातामै आफ्नो आम्दानीमा झन्डै ८० प्रतिशतले गिरावट आएको विश्लेषकहरूको अनुमानले देखाएको छ ।

अनौपचारिक नगद आधारित माध्यममा निर्भर रहँदै आएका पनि नराम्ररी प्रभावित भएका छन् । तरकारी पसल चलाउँदै आएका रनवीर सिंह पनि नोटमाथि प्रतिबन्ध लागेको पहिलो दुई दिनमा भएको नगद अभावका कारण पसल बन्द गर्न बाध्य भएका छन् ।

नोटमाथि प्रतिबन्ध लाग्नुपूर्व उनी दैनिक १५ डलर आर्जन गर्दै आएका थिए । यदि यो अवस्था अझै २ सातासम्म चलेमा आफ्नो परिवार भोकै हुने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया