तेक्वान्दोका स्वर्ण पदक बिजेता खेलाडी यानकुमारी यसरी उदाइन् खेल क्षेत्रमा

सगिता सुबेदी
काठमाडौँ १७ मंसिर ।
मध्ये तराइको बारा जिल्ला स्थित निजगढ (बिचटोल) मा ३ दशक अघि विपन्न परिवारमा जन्मिएकी हुन् यानकुमारी चौलागाँई । वुवा शंकरप्रसाद चौलागाई र आमा शिवमाया चौलागाईको कोखबाट जन्मिएकी उनी यतिवेला तेक्वान्दो खेलबाट राष्ट्रिय स्तरमा चर्चामा छिन् । हालै क्यानडामा सम्पन्न टोरेन्टो वपन इन्र्टरनेशनल च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी तीन जना प्रतियोगीमध्ये उनले मात्र स्वर्ण पदक प्राप्त गरेकी हुन् । उनले त्यसरी नेपालकै शिर उच्च राख्नेगरी प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेपछि नेपालमा धेरैले खुशी ब्यक्त गरेका थिए । उनको सर्वत्र तारिफ भएको थियो ।
बाराको निजगढमा जन्मिएकी यानकुमारीले श्री सार्वजनिक माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरेकी छिन् । त्यसपछी उनी लगातार राष्ट्रिय स्तरको खेलकुदमा अभ्यस्त रहेकीले आफुले थप अध्ययन गर्न नभ्याएको उनी बताउँछिन् ।
खेल क्षेत्रमा उनले हात हालेको ०५८ सालबाट हो । तेक्वान्दो खेलका उनका प्रथम गुरु श्रीकृष्ण मुरारी खड्का हुन् जो अहिले विदेशीएका छन् । अहिले उनको दोश्रो गुरु गुरुप्रसाद गौतम खेलकुद क्षेत्रमै क्रियाशिल छन् । श्रीकृष्ण र गुरुप्रसादले नै आफनो खेलको जग बसालेको उनी बताउँछिन् । उनलाई खेल क्षेत्रमा अघाडी आउन आफनो माइली दिदी अम्बिका चौलागाईले प्रोत्साहन गरेको उनी बताउँछिन् । सानैदेखि फुटबल खेल्ने उनी निजगढमा तेक्वान्दो खेल भित्रिएपछि यतातर्फ लत्रिएकी हुन् । एउटा अचम्म के भने तेक्वान्दो खेल खेल्न थालेको एक हप्तामै उनलाई अञ्चल स्तरको प्रतियोगितामा भाग लिने अवसर मिल्यो र उनले त्यस खेलमा दोश्रो मेडल समेत हासिल गरिन् । त्यसपछी उनको गाउँमै पनि चर्चा चल्न थालेको र खेलमा निरन्तरता दिन हौसल्ला मिलेको यानकुमारी बताउँछिन् । त्यसपछी उनी राष्ट्रिय खेलमा छनौट भइन् र अहिलेसम्म राष्ट्रिय अन्र्तराष्ट्रिय खेलमा उनी लगातार खेलिरहेकी छिन् । उनले हालसम्म ब्याल्क वेल्टको ‘फोर डान’ तह हासिल गरिसकेकी छिन् ।
हाल उनी नेपाल आर्मीबाट खेल्छिन् । सैनिक महाविधालय बिजेश्वरीमा सह–प्रशिक्षकको रुपमा कार्यरत छिन् । उनले त्यहाँ काम गर्न थालेको ७ बर्ष जति भयो । त्यहाँबाट आफनो खेललाई अघि बढाउन ठुलो सहयोग मिलेको उनको अनुभव छ । हालसम्म दर्जन भन्दा बढी अन्र्तराष्ट्रिय स्तरको खेल खेलिसकेकी उनले आउँदै गरेको विश्व खेल क्षेत्रको महाप्रतियोगिता ओलम्पिकमा अवसर पाए जितेर देखाइदिने बिजनेसपाटी अनलाइनसँग बताईन् ।
हालसम्म उनले क्यानडामा सम्पन्न टोरेन्टो वपन इन्र्टरनेशनल च्याम्पियनसिपमा स्वर्ण पदक (गोल्ड मेडल ), काठमाण्डौमा सम्पन्न पहिलो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपमा गोल्ड मेडल, कोरियामा सम्पन्न कोरिया ओपन तेक्वान्दो च्याम्पीयनसिपमा सिल्भर मेडल, दोश्रो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपमा सिल्भर मेडल, बंगलादेशको ढाकामा सम्पन्न १० आंै साउथ एसियन खेलकुद प्रतियोगिताबाट ब्रोन्ज मेडल, भारतमा सम्पन्न ओपन इन्डिया अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ब्रोन्ज मेडल प्राप्त गरिसकेकी छिन् । त्यसैगरी कतारको दोहामा सम्पन्न १५ औं एसियन खेल र चीनको गोन्जाउमा सम्पन्न १६ आंै एसियन खेलमा पनि उनले सहभागिता जनाइसकेकी छिन् ।

उनले तेक्वान्दो खेल क्षेत्रमा लागेर दक्षिण कोरिया, चीन, भारत, कतार, मलेसिया, हङकङ, बंगलादेश, फिलिपिन्स, क्यानडा लगायत मुलुकमा पुगिसकेकी छिन् ।
भर्खरै उनी क्यानडामा सम्पन्न टोरेन्टो वपन इन्र्टरनेशनल च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी भइ ( सहभागीहरुमा यानकुमारी चौलागाई, ज्ञानी चुनारा र रेजिना कार्की ) गोल्ड मेडल लिएर आएकी हुन् । सो खेलमा विभिन्न देशका ११ सय प्रतियोगीले भाग लिएका थिए । उनले खेल क्षेत्रमा लागेर प्राप्त गरेको सबैभन्दा ठुलो उपलब्धी त्यही स्वर्ण पदक हो । उनले त्यसरी स्वर्ण पदक नै जितेपछी सर्वप्रथम आफनी आमालाई सम्झीएको बताईन् । र, आफुले जितेको खबर सबैभन्दा पहिला उनले आफनो गुरु ओलम्पीयन दिपक विष्टलाई सुनाएकी थिइन् ।
सो जीतले उनलाई धेरै मिहिनत र संर्घष गरे सफलता टाढाको विषय नभएको अनुभव भएको छ । त्यो जितले आफु अत्यन्त हर्षित भएको उनी बताउँछिन् । त्यसरी जितीसकेपछी उनलाई देश विदेश सबैतिरबाट बधाइको ओइरो लागेको थियो । राम्रो गरिस्, देशको इज्यत राखिस भन्नेहरु धेरै भए–उनले भनिन् । टोरेन्टो प्रतियोगिता जितिसकेपछी उनलाई क्यानडामा पनि नेपालीहरुले सम्मान गरेका थिए ।
यसरी कठोर संर्घष, मिहिनतको बावजुत खेलकुद क्षेत्रमा सफलताको सिँढी उक्लिँदै गरेकी यानकुमारीले देशबाट भने खेलकुद क्षेत्रलाई प्राथमिकता नदिईएको अनुभव सुनाइन् । खेलकुद क्षेत्रमा लागेकाहरुले कठोर आर्थिक तनाव झेल्नु पर्ने बाध्यता रहेको उनले बताइन् । खेलकुद क्षेत्रले देशको नाम, इज्यत र गरिमा बढाउने भएकोले यसमा राज्यले यथोचित लगानी गर्नुपर्ने यानकुमारी बताउँछिन् । उनी खेल क्षेत्रमा नयाँ आउने पिँढीलाई पढाइसँगसँगै खेल क्षेत्रलाई पनि अघाडी बढाउन सल्लाह दिन्छिन् । पढाइले खेल क्षेत्रलाई अझै उन्नत र परिष्कृत तुल्याउने उनको ठम्याइ छ । यसरी एउटा पिछडिएको ग्रामिण भेगबाट कठोर संर्घषका बावजुत खेलकुद क्षेत्रमा जमेकी नारी जो अझै यस क्षेत्रबाट मुलुककै शान राख्ने प्रवल इच्क्षा राख्छिन् त्यो स्वर्णिम नाम बनेकी छिन् यानकुमारी चौलागाई । उनलाई बिजनेसपाटी अनलाइन बधाई ब्यक्क्त गर्दछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया