दुई रुपियाँबाट सुरु भएको कोषमा दुई करोड !

काठमाडौं, ३० कात्तिक

कार्यालय सहयोगीलाई चश्मा किन्नको लागि २०३६ सालमा दुई रुपियाँबाट सुरु गरिएको कोषमा अहिले दुई करोड रुपियाँ बचत भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा २०३६ सालमा तल्लो दर्जाका कर्मचारीलाई चश्मा मात्रै भए पनि किनेर दिने उदेश्यले सुरु भएको कोष यतिबेला कर्मचारीको विपत्तिको भरपर्दाे साथी बन्न थालेको छ । धेरै कर्मचारीको ज्यान जोगाउने साथीको रुपमा कोष विकास भएको छ ।

‘४० बर्षअघि सुरु भएको चश्मा अनुदान अहिले पनि निरन्तर रुपमा संचालन भइरहेको छ’ कल्याणकारी कोष सञ्चालक समितिका पूर्व अध्यक्ष दिव्यराज पौडेलले बताए ।

कोषका सदस्य बाबुराजा बोहराले भने, ‘हृदयघातको समस्या र मृगौला फेर्न पर्ने अवस्थामा २०६६ सालमा जीवनको आश मैले मारिसकेको थिएँ तर कोषले आपसी सहयोग मार्फत पाँच लाख रुपियाँ उपलव्ध गरायो र उपचारप्रति सकारात्मक हुन उत्प्रेरित गरेकैले मैले नयाँ जीवन प्राप्त गरेको हुँ ।’

रेडक्रस कर्मचारी कल्याणकोषका सदस्यहरूबीच पारस्परिक सहयोगको आधारमा विपत्तिको अवस्थामा सहयोग पुर्याउन तथा अन्य अवस्थामा सामाजिक तथा आर्थिक स्थिति सुधारको लागि कार्यक्रमहरू सञ्चालन गर्न २०३६ साल साउनदेखि रेडक्रसका सहयोगी कर्मचारीबाट दुई रुपियाँ र अधिकृतस्तरका कर्मचारीबाट पाँच रुपियाँ र मासिक उठाई सुरु गरिएको कल्याणकोषमा अहिले एक करोड ९६ लाख रुपियाँ रहेको र कल्याणकारी कार्य सञ्चालनमा रहेको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया