नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र

काठमाडौं १९ असार २०८०।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ कम्पनीमध्ये १० लाई आशयपत्र प्रदान गरेको नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले जानकारी दिए ।
असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको दाहालको भनाइ छ । आशयपत्र प्राप्त गर्ने थप १० कम्पनीमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन् ।
धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका ११ कम्पनीमध्ये केबिएल सेक्युरिटिज लिमिटेडले नेप्सेमा सदस्यताका लागि आवेदन दिनै बाँकी रहेको दाहालले बताए । चरणमा नेप्सेबाट दोस्रो आशयपत्र प्राप्त गर्ने १० कम्पनीमध्ये १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजीको नबिल सेक्युरिटिज लिमिटेले स्टक डिलरको सेवा प्रदान गर्नेछ ।
६० करोड रुपैयाँ चुक्तापूँजीको मेगा स्टक मार्केट लिमिटेडले शेयर खरीदविक्रीसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको सेवा प्रदान गर्नेछ ।
यीबाहेक अन्य सीमित सेवा दिनेछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया