मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै

काठमाडौँ २६ माघ

रत्ननगर, चितवन- चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग (करिडोर) क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चितवन निकुञ्जभित्र मात्रै नभई मध्यवर्ती क्षेत्रमा समेत पाटे बाघले वासस्थान बनाएर बसेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिनुभयो । अझै थप छ महिना सो क्षेत्रमा अत्याधुनिक क्यामेरा राखेर क्यामेरा ट्र्यापिङ विधिबाट अध्ययन गरिने उहाँको भनाइ छ । जैविकमार्गमा पर्ने राजमार्गमा अन्य जनावरसँगै बाघसमेत ओहोरदोहोर गर्ने गरेको र बाघले बरण्डाभारमा वासस्थानसमेत बनाएको पाइएको लामिछानेले जानकारी दिनुभयो ।
जैविकमार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न यहाँ क्यामेरा ट्र्यापिङ विधिबाट अनुसन्धान भइरहेको छ ।

राजमार्ग आसपास क्षेत्रमा अत्याधुनिक प्रविधिको स्वचालित क्यामेरा राखेर गरिएको अनुसन्धानमा राजमार्ग काटेर बाघले तल र माथि गर्ने गरेको समेत पाइएकाले सो क्षेत्र अति संवेदनशील रहेको अनुसन्धानकर्ताले बताएका छन् । सवारी चलाउँदा ध्यान दिन उनीहरुले आग्रह गरेका छन् । “दुई वटा भाले बाघले राजमार्ग कटेर तलमाथि गरेको पाइयो, एउटा लंगडो छ, दुई वटा पोथी बाघ राजमार्गसम्म पुगेको भेटियो”, छ महिनाको अनुसन्धानबारे अनुसन्धान अधिकृत लामिछानेले भन्नुभयो । राजमार्गको कुन ठाउँ बाघले बढी प्रयोग गर्छन् भन्नेबारेमा तीन वटा क्यामरा थप राखेर अनुसन्धान जारी रहेको उहाँको भनाइ छ । बाघले वफर्जुनमा आफ्नो क्षेत्र (टेरिटोरी) नै बनाएर बसेको समेत अनुसन्धानले देखाएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा डा आशिष गुरुङको नेतृत्वमा यहाँ अध्ययन भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, जिल्ला वन, राष्ट्रिय निकुञ्ज तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा यहाँ अध्ययन भइरहेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले सो क्षेत्रमा बाघ, गैँडा, चित्तललगायत वन्यजन्तुको अवस्था पत्ता लगाउन अनुसन्धान थालिएको बताउनुभयो । यहाँ १९ स्थानमा ३४ वटा अत्याधुनिक क्यामरा राखिएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया