महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड

काठमाडौं २५ फागुन २०७८। महिलाको अधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लव ज्ञानेश्वरले मंगलबार आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्र वहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताउनुभयो । महिला र पुरुषको समान सहभागिताबाट महिला अधिकारको सुनिश्चितता खोज्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । हिंसाको जालो सर्वप्रथम घरबाटै तोड्नुपर्ने उहाँले बताउनुभयो । महिला हिंसा अन्त्यका लागि रोटरी क्लव जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भण्डारीको भनाई छ । राजभण्डारीले भन्नुभयो, ‘रोटरी क्लवमा आवद्ध भईसकेपछि यो महिला, यो पुरुष भन्ने हुँदैन । महिला अधिकार हुँदै सामाजिक परिवर्तनका मुद्धामा रोटरी क्लवमा अवद्ध भएर सकारात्मक परिवर्तनका लागि काम गर्न सकिन्छ ।


कार्यक्रममा रोटरीका पास्ट डिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराईले महिला हिंसा विश्वव्यापी रुपमै तिव्ररुपमा बढिरहेको बताउनुभयो । महिलालाई घरबाटै हिंसा शुरु हुने भन्दै विभेद विरुद्धको अभियान पनि पहिला घरबाटै शुरु गर्नुपर्ने उहाँले बताउनुभयो । संसारभर रहेका रोटरी क्लवहरु मार्फत महिला विरुद्ध हुने विभेद विरुद्ध अभियान चलाउनुपर्ने भट्टराईले बताउनुभयो ।महिलालाई सम्मान, महिलाको कामलाई सम्मान गर्न सकिए समग्र राष्ट्र र विश्व नै नमुना बन्ने भट्टराईले बताउनुभयो ।

यस्तै अधिकारकर्मी दिव्या गुरुङले समाजका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गरेर उनिहरुको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिनुभयो । महिला, र लैङिगक समावेशिताको मुद्धा निकै चुनौतीपुर्ण बन्दै गएको गुुरुङको भनाई छ । पछिल्लो समय जलवायु परिवर्तनको असर सवैभन्दा धेरै नेपालमा देखिन थालेको र महिलाहरु प्रभावित भईरहेको गुरुङले बताउनुभयो । जलवायु परिवर्तन विरुद्ध साझा सहकार्य गर्न र रोटरीमा महिलाहरुको संख्या वृद्धि गर्न गुरुङले आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया