माओवादी केन्द्रमा यस्तो छ नयाँ प्रस्ताव

काठमाडौं–१३ असार

नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो । पार्टीको संगठनात्मक कार्यविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो ।

विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ । माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको छ ।

पार्टीको सबैभन्दा तल्लो निकाय सेल कमिटी हुनेछ । सेल कमिटी बढीमा ११ जनासम्मको बनाउने माओवादीको तयारी छ ।

वडामा रहेका सबै नवीकृत संगठित पार्टी सदस्यहरूको सम्मेलनले वडा कमिटी गठन गर्ने कार्यविधिमा उल्लेख छ । वडा कमिटी २५ सदस्यसम्मको हुनेछ ।

गाउँ कमिटी ५१ सदस्यीय बनाउने माओवादी योजना छ । मातहतका वडाहरूबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा गाउँ सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधिको सम्मेलनले गाउँ कमिटी चयन गर्नेछ ।

छलफलका लागि तयार पारिएको सांगठनिक कार्यविधिमा बढीमा ५१ सदस्यीय नगर कमिटी बनाउने उल्लेख छ । यस्तै, उपमहानगर कमिटी ६५ सदस्यीय र महानगर कमिटी ७५ सदस्यीय हुनेछ ।

जिल्ला मातहतका गाउँ, नगर कमिटीबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा जिल्ला सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधि, पर्यवेक्षक सहभागी सम्मेलनले जिल्ला कमिटी गठन गर्नेछ । त्यस्तो कमिटी बढीमा ७५ सदस्यीय हुनेछ । जिल्ला कमिटी बनाउँदा घाइते योद्धा, सहिद परिवार, बेपत्ता योद्धा परिवार, पेसागत प्रतिनिधित्व, प्राकृतिक अपांगता भएकालाई पनि सहभागी गराउने नीति माओवादीको छ ।

प्रदेश मातहतका जिल्ला कमिटीबाट निर्वाचित प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश सम्मेलन आयोजक कमिटीबाट मनोनीत प्रतिनिधि, पर्यवेक्षक सम्मिलित सम्मेलनले प्रदेश कमिटी गठन गर्नेछ । यस्तो कमिटी बढीमा ९९ सदस्यीय हुनेछ । प्रदेश कमिटी सर्वसम्मत चयन गर्ने र सम्भव नभए गोप्य मतदानबाट चयन गरिनेछ । प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित ९ जनासम्म पदाधिकारी हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया