मेलम्चीको खर्चमा मन्त्री विदेशभ्रमणमा

काठमाडौं, ६ माघ ।

मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा स्पेन जान लागेका हुन् ।

‘मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन,’ मन्त्रालयका एक सहसचिवले भने, ‘कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो ।’ उनले स्पेनमा कुनै सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको छैन । आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

‘मन्त्रीको कुनै सरकारी अधिकारीसँग भेटघाट पनि छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘युरोपेली मुलुक घुमेरमात्र फर्किने हो ।’मन्त्रीको विदेश भ्रमणको चाँजोपाँजो भने मेलम्ची खानेपानी विकास समितिले मिलाएको हो ।

समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि मन्त्री यादवसँगै विदेश जान मन्त्रालयमा प्रस्ताव पठाएका थिए । तर उनको फाइल भने मन्त्रालयले रोकेको छ । ‘मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिनुपर्नेमा देवकोटा पनि जान खोज्नुभएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँको भ्रमण कार्यक्रम मन्त्रालयले रोक्यो ।’

मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माणमा संलग्न कर्मचारी र कामदारलाई ‘एक्स्पोजर भिजिट’ का लागि विनियोजन गरेको रकमबाट खर्च हुनेगरी मन्त्री यादवको भ्रमण तय भएको हो । उक्त आयोजनाले ‘एक्स्पोजर भिजिट’ का लागि आयोजना अवधिभरका लागि करिब एक करोड १२ लाख (एक लाख १२ हजार डलर) बजेट विनियोजन गरेको छ ।

‘कर्मचारी जाने कार्यक्रममा अतिविशिष्ट (मन्त्री) जानु राम्रो होइन,’ ती अधिकारीले भने, ‘मन्त्रीले पदीय मर्यादा ख्याल नगरेपछि के गर्ने ?सरकारका अतिविशिष्ट अधिकारी विदेश भ्रमण जाँदा प्रतिदिन २ सय ५० डलर सुविधा पाउँछन् । युरोपेलीलगायत केही मुलुकमा जाँदा २ सय ५० को ३३ प्रतिशतले हुन आउने थप ८२.५० डलर थपिन्छ । मन्त्री अतिविशिष्ट तहमा पर्ने भएकाले सोहीअनुसार सुविधा पाउने छन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगै परामर्शदाता कम्पनी इप्टिसाका प्रतिनिधि पनि विदेश जाने योजनामा छन् । तालुक मन्त्रालयका मन्त्रीसँगै मेलम्ची खानेपानी सुरुङ निर्माण ठेकदार जानुलाई अस्वाभाविक र अर्थपूर्ण रुपमा हेरिएको छ । विभिन्न आयोजनामा तालुकवाला मन्त्री र उच्च अधिकारीलाई प्रभावित पारेर आफूअनुकूल निर्णय गराउन विदेश घुमाउन लैजाने पुरानै परम्परा हो । मन्त्रीको स्पेन भ्रमणको विषयमा सचिव गजेन्द्रकुमार ठाकुरले केही बताउन चाहेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया