म्याग्दी महोत्सवः जलयात्रा, भ्रमण र घोडा सफारी

म्याग्दी, २८ पुस

सदरमुकाम बेनीमा छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, आद्यौगिक व्यापारिक मेला आजदेखि शुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आगामी माघ ७ गतेसम्म चल्ने महोत्सवको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गर्र्र्र्दै नेपालमा राजनीतिक स्थिरता कायम गरी विकास निर्माणलाई गति दिनु अबको प्रमुख दायित्व भएको बताउनुभयो । नेपाली काँग्रेसलाई जनताको अभिमतलाई सहज रुपमा आत्मसात् गर्न आग्रह गर्दै दाहालले अब बन्ने स्थिर सरकारले शान्ति, विकास, समृद्धि र सुशासनमार्फत जनताको जीवनस्तर उकास्न प्राथमिकता दिने बताउनुभयो ।

“अबको अर्जुनदृष्टि विकास र समृद्धिमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउनुनै हो” अध्यक्ष दाहालले भन्नुभयो “जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा सार्वजनिक निकाय र निजी क्षेत्रलाई संँगै लिएर अघि बढ्छौँ ।”
उहाँले एमाले र माओवादी केन्द्रका नेताहरुले पार्टी एकताको खाका तयार पार्नेसंगै कुन जिल्लामा के सम्भावना छ, त्यसलाई परिचालन गरेर कसरी आर्थिक विकास गर्न सकिन्छ भनेर अध्ययन र छलफल गरिरहेको जानकारी दिनुभयो ।

म्याग्दीमा जलविद्युत्, पर्यटन र जडिबुटीको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उहाँले कोरला नाका खुलाउन कूटनीतिक रुपमा पहल भैरहेको बताउनुभयो ।
उद्घाटन सभामा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य विनोद केसी र नरदेवी पुनले कोरला नाका सञ्चालन गर्नुपर्ने तथा म्याग्दीलाई हिमाली र विकट जिल्लामा सूचीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले पहुँच नपुग्दा सम्भावना भएर पनि वर्षौंदेखि पिछडिएको म्याग्दी विकासको मूल धारमा प्रवेश गरेको बताउनुभयो ।
सो अवसरमा म्याग्दीका वन तथा वातावरणविद् चन्द्रमणि सापकोटाद्वारा लिखित ‘हिमालय क्षेत्रका जडीबुटी’ नामक पुस्तक विमोचन गरिएको थियो । सापकोटाले करिब १० वर्षको अध्ययन अनुसन्धानपछि तयार पारेको सो पुस्तकमा धौलागिरि, नीलगिरि, गुर्जालगायत म्याग्दीमा रहेका ११ हिमाल र तिनको वरपर पाइने बहुमूल्य जडीबुटीका बारेमा प्रकाश पारिएको छ ।

म्याग्दीलाई समेटेको कालीगण्डकी कोरिडोर सडक आयोजना, जलविद्युत् आयोजना, पर्यटकीय मार्ग र कोरला नाका सञ्चालन गराउन महोत्सवमार्फत सकारात्मक सन्देश प्रवाह गराउने लक्ष्य छ । महोत्सवमा म्याग्दीका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृति र जीवनशैली झल्काउने तस्वीर तथा वृत्तचित्रसमेत प्रदर्शनी गरिएको छ ।

स्थानीय तहस्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गीत प्रतियोगिता, कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, झाँकी प्रदर्शनी, रमाइलो मेला महोत्सवको आकर्षण रहने प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा २०० व्यापारिक कक्ष छन् । कृषकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन कृषि विकास कार्यालयसँगको सहकार्यमा कृषि मेला प्रदर्शनीसमेत आयोजना गरिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि कालीगण्डकीमा जलयात्रा र बेनीदेखि लभहिलसम्म घोडा सफारी गराइने आयोजक समितिका महासचिव लीलाराम गौतमले बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएको स्थानीय उत्पादन प्रदर्शनी व्यवस्थापन उपसमितिका संयोजक नवराज पौडेलले बताउनुभयो । महोत्सवमा नजिकका पर्यटकीय ठाउँमा भम्रणका लागि यातायातको व्यवस्था, पनि मिलाइएको द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया