यसकारण नेपालमा हराउँछन् पर्यटक

काठमाडौं १० भदौ,।

वैशाख मध्यमा चारैतिर फैलिएको एउटा समाचार सबैका लागि उत्सुकता र कौतुहलको विषय बन्यो । नेपालमा भएको घटनामा आधारित समाचारको पात्र भने विदेशी थिए । चामत्कारिक वृत्तान्तझैं प्रतीत हुने त्यो घटना हो, हिउँको खोँचमा परेर ४७ दिनपछि जीवितै भेटिएको पर्यटकका बारेमा ।

धादिङको रुबी भ्याली घुम्क्न हिँडेका २१ वाषर््ीय ताइवानी लियाङ सेङ यु र उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुन फागुन २६ गतेबाट हराएका थिए । हराएको ४७ दिनपछि वैशाख १३ गते खोजी गर्ने क्रममा उनीहरु फेला परे । उनीहरु हिउँमा चिप्लिएर खोंचमा खसेका थिए । लियाङ जीवितै भए पनि उनकी प्रेमिकाको मृत्यु भइसकेको थियो । लिवाङका अनुसार दिउँमा फसेको ४४ ओं दिनमा प्रेमिकाको मृत्यु भएको थियो ।

पर्यटक हराउनु नेपालका लागि नौलो घटना होइन । तर, हराएको ४७ दिनपछि जीवितै फेला पर्नु भने अनौठो हो ।

साउन दोस्रो साता ललितपुरकी २५ वर्षीया मुना राना र धरानका २६ वर्षीय अंकित गुरुङको शव पर्वतस्थित मोदी खोलाछेउमा भेटिए । प्रहरीका अनुसार, उनीहरु ट्रेकिङका लागि मुस्ताङ गएका थिए । शव बरामद भएका ठाउँमा भेटिएका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

नेपाल घुम्न आएका विदेशी तथा देशकै विभिन्न ठाउँमा घुम्न निस्केका नेपाली हराएर खोजीका लागि प्रहरीसमक्ष परेका यी केही उदाहरण मात्रै हो ।

प्रहरीका अनुसार नेपालका िवभिन्न ठाउँ घुम्न गएका विदेशी तथा नेपाली पर्यटक बारबार हराइरहेका हुन्छन् । गत आर्थिक वर्षमा मात्रै १६ जना विदेशी पर्यटक हराएको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ ।

तथ्यांकअनुसार अधिकांश पर्यटक ट्रेकिङ जाँदा हिमाली क्षेत्रमा हराउने गरेको पाइन्छ । त्यसैगरी काठमाडौंबाट सम्पर्कविहीन हुने पर्यटकको तथ्यांक पनि उल्लेख्य छ । ‘तथ्यांक हेर्दा काठमाडौंबाट पर्यटक हराएको देखिन्छ तर उनीहरु अन्यत्र घुम्न जाँदा हराएका हुन्छन् । आफन्तलाई काठमाडौंबाट अन्तिमपटक सम्पर्क गरेर कतै घुम्न गएकाले पर्यटक यहीँबाट हराएको अनुमान गरिन्छ । हिमाली क्षेत्रमा एक्लै घुम्न गएका पर्यटक बढी हराउने गरेका प्रहरी अधिकारीहरुको भनाइ छ । आजको नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया