राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै

काठमाडौं १ कार्तिक

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच नाता जोडिने भएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम र पूर्वराष्ट्रपति डा. यादवकी भतिजी किरणका छोरा अभिषेकबीच बिहेको टीकोटालो भएको छ । अब दुई राष्ट्रपतिबीच सम्धी–सम्धिनीको नाता हुनेछ ।

राष्ट्रपतिनिवासमा आइतबार टीकाटालो भएको हो । राष्ट्रपति कार्यालयले नै आइतबार बिहान १०ः१५ बजेको साइतमा ‘इन्गेजमेन्ट’ भएको जनाएको छ । इन्गेजमेन्टमा दुवै परिवारका काठमाडौंमा उपलब्ध पारिवारिक सदस्य मात्र सहभागी थिए । केटा–केटीले एक–अर्कालाई माला लगाएका थिए भने राष्ट्रपति भण्डारी तथा केटाका पिता मुनिलाल यादव र माता किरणले टीका लगाइदिएका थिए ।

को–को सहभागी थिए ?
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको इन्गेजमेन्ट कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, उनकी पत्नी राधिका शाक्य, राष्ट्रपति भण्डारीकी जेठी छोरी उषाकिरण र उनका श्रीमान् तथा सासु–ससुरा सहभागी थिए । एमाले नेता स्व. जीवराज आश्रितकी पत्नी माया ज्ञवाली तथा राष्ट्रपति कार्यालयका कर्मचारी सहभागी थिए ।
उपचारका लागि अमेरिकामा रहेका कारण अभिषेकका हजुरबुबा पूर्वराष्ट्रपति डा. यादव भने इन्गेजमेन्ट कार्यक्रममा सहभागी हुन पाएनन् । यादव पक्षबाट केटाका पिता मुनिलाल यादव र माता किरण, पूर्वराष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादव, उनकी श्रीमतीलगायत थिए । सबै गरी करिब ५० जना सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहे माघमा
डा. निशाकुसुम र अभिषेकको बिहे कार्यक्रम माघमा गर्ने तय भएको केटा पक्षको स्रोतले बतायो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया