विप्लवको सेनामेनामा मारामार

काठमाडौं १३ भदौ

सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खबर प्रकाशमा आइरहेका बेला माउ पार्टीकै रोगले विद्यार्थी संगठन पनि ग्रस्त हुन पुगेको खबर छ । विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन हाँकिरहेका अध्यक्ष पूर्णबहादुर सिंहले सिनियरहरुलाई पन्छाएर जुनियरहरुलाई केन्द्रीय सदस्य जस्ता जिम्मेवारीमा लगेपछि संगठनमा भाँडभैलो नै मच्चिएको छ ।

सिंहको यस्तो कार्यशैलीपछि त्याग, लगानी र योगदान पुर्याएका विद्यार्थीहरु आगो बन्न पुगेका छन् । सिंहले संगठनमा मनपरी गर्न थालेपछि विद्यार्थीहरुले उनीमाथि संगठन प्राइभेट लिमिटेड जस्तो गरी सञ्चालन गरेको भन्दै पार्टी अध्यक्ष विप्लव समेत गुहारेको थाहा भएको छ ।

प्राप्त समाचार अनुसार, संगठनर्लाइ चुस्त–दुरुस्त र कामयावी बनाउने भन्दा पनि ठूला नेताको चाकरी गर्ने अस्त्रका रुपमा सिंहले उपयोग गर्न थालेको गुनासो विद्यार्थी संगठनका नेताहरुले गर्न थालेका छन् । सिंहले चाकरीकै लागि संगठनमा खासै लगानी र योगदान नदिएकाहरुलाई समेत टपक्कै टिपेर स्थान दिएका छन् ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका विप्लवका छोरा प्रकाश चन्दलाई उनले केन्द्रीय सदस्य बनाएका छन् । उनले विप्लव खुसी पार्न संगठनमा खासै सक्रिय र योगदान नदिएका प्रकाशलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको गाइगुँइ विप्लवका विद्यार्थी बीच चलेको छ ।

सिंहले सिनियरहरुलाई पन्छाउँदै विप्लवकै भतिज दिनेशविक्रम चन्दलाई पनि केन्द्रीय सदस्य पद दिएका छन् । उनी महेन्द्ररत्न कलेजमा अध्ययनरत छन् । यसरी चन्दका छोरा र भतिजलाई विना लगानी र योगदान केन्द्रीय सदस्य पद दिएपछि मूल्य र निष्ठाको राजनीतिक गर्दै संगठनमा गोलबद्ध भएका विद्यार्थीहरु रनभुल्लमा पर्न थालेका छन् ।

उता, प्रकाण्डका छोरा नरेन्द्र विकलाई पनि अन्य पदाधिकारीहरुको असहमतिकै बीच टपक्क टिपेर केन्द्रीय सदस्य बनाइएपछि विद्यार्थीहरुले कमल थापा र हाम्रो पार्टीमा के फरक भयो भन्दै प्रश्न उज्याउन थालेका छन् । उदेक लाग्दो कुरा त के छ भने ललितपुर जिल्लाका सचिव र सहसचिवर्लाइ केन्द्रीय सदस्य नबनाई सिंहले कोषाध्यक्ष बनाएका छन् । यसले विप्लव विद्यार्थीमा सल्किएको विवादको आगो थप दन्किन पुगेको बुझिएको छ ।

स्रोतका अनुसार, विप्लवलाई खुसी पार्न सिंहले यस्तो जुक्ति रचे पनि क्रान्तिकारी छविका उनले चाकरी नरुचाएको बताइन्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया