वेष्ट इन्डिजमा कोहलीको कीर्तिमान

काठमाडौँ ८ साउन एन्टीगुआ ,एजेन्सी-
भारतीय टेष्ट कप्तान विराट कोहलीले ५१ वर्षपछि भ्रमणकारी कप्तानको रूपमा वेष्ट इन्डिजमा दोहोरो सतक बनाउने कीर्तिमान बनाएका छन्।
सन् १९६५ मा अस्ट्रेलियाका कप्तान बब सिम्सनले ब्रिजटनमा २ सय १ रनको दोहोरो सतकीय इनिङ खेलेयता कुनै पनि विदेशी कप्तानले वेष्ट इन्डिजमा दोहोरो सतक बनाएको थिएन।
विराटले आफ्नो टेष्ट करिअरको पहिलो दोहोरो सतक बनाउने क्रममा २ सय ८१ बलमा २४ चौका लगाउँदै २ सय रन बनाएका छन् । उनी हाल एन्टिगुआममा जारी पहिलो टेष्टमा यो कीर्तिमान बनाउने क्रममा वेष्ट इन्डिजमा दोहोरो सतक लगाउने तेस्रो विदेशी कप्तान बन्न पुगे। सबैभन्दा पहिले सन् १९५४ मा इङ्ल्यान्डका कप्तान लेन हटनले किङ्स्टनमा २ सय ५ रन बनाएका थिए।
विराट वेष्ट इन्डिजमा दोहोरो सतक बनाउने सबैभन्दा कान्छा भारतीय कप्तान पनि बन्न पुगेका छन् । उनले ४२ टेष्ट खेल्ने क्रममा यो उपलब्धि हासिल गरेका हुन्। उनी कप्तानको रूपमा दोहोरो सतक बनाउने पाँचौ भारतीय कप्तान हुन्। यसअघि कप्तानका रूपमा महेन्द्रसिंह धोनी, सचिन तेन्दुलकर, सुनिल गावस्कर र नवाव पटौदीले दोहोरो सतक बनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया