वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

फुङ्लिङ २८ कार्तिक २०८०

ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।

फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लगेका छन् । उनले भने, “अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।”

अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लगेको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर, सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गरेका छन् ।
लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटेल बन्द भयो । छरछिमेक घर छोडेर बसाइँ सरेर गए । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटेल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइँ सरेर गएका छन् । घर भने त्यतिकै छ ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खोजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो ।
उनले विस्तारै किवी खेती थाले । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको उनले बताए । अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उनको भनाइ थियो । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई रु पाँच लाख अनुदान दिएको छ । रु पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको किसान लिम्बूले बताए ।

जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउने गरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाए ।

६ वर्षअघि व्यावसायिक किवी खेती सुरु गरेका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदै आएको बताए । उनले गत वर्ष किवीबाट रु दुई लाख ५० हजार आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उनले बताए । उनका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।

उनीजस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दै आएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा , फक्ताङ्लुङ, सिदिङ्वा, मैवाखोला गाउँपालिकालगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् ।

एकपटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा–५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताए । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताए ।

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।”

किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम रु २५० सम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताइन् ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुँदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् ।

ताप्लेजुङमा सात÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिक रूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानहरूको भनाइ छ ।

फक्ताङ्लुङ–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उनले बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया