शुक्लाफाँटा महोत्सव शुक्रबारदेखि हुने

काठमाडौँ ३ चैत

भीमदत्तनगर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै समग्र सुदूरपश्चिम क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका धरोहरको प्रवद्र्धन र प्रचारप्रसारका लागि शुक्लाफाँटा महोत्सव–२०७३ को आयोजना हुने भएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बुधबार पत्रकारसम्मेलन गर्दै आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराउँदै उक्त महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि आयोजना हुने जनाएको हो ।

शुक्रबारदेखि हुने महोत्सव शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनेपछि प्रचार–प्रसारका लागि पनि महोत्सव आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनुभयो । महोत्सवमा व्यवसायी र छिमेकी मुलुक भारतका विभिन्न भूभागका पर्यटकलाई सम्मिलित गराउने उद्देश्य रहेको छ । यही चैत्र ४ देखि ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक सम्मिलित हुने बताइएको छ ।

महोत्सवमा भारतको लखनऊ, देहरादुन, नैनिताल र दिल्लीलगायतका पर्यटकले अवलोकन गर्नेछन् भने नेपालका विभिन्न जिल्लाबाट पनि अवलोकनकर्ता आउने नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन सुदूरपश्चिमका क्षेत्रीय अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो ।महोत्सवको माध्यमबाट सुदूरपश्चिमका पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, मालिकार्जुन, अपी र सैपाल लगायतका गन्तव्यका बारेमा जानकारी गराइनेछ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया