सन् २०१७ मा ५ लाख गरिबलाई घर

ब्रासिलिया १० पौष

 ब्राजिल सरकारले न्यून आय भएका नागरिकका लागि कम्तीमा ५ लाख घर निर्माण गरिदिने भएको छ । राष्ट्रपति माइकेल टेमरले घर बनाइदिने विषयमा जानकारी गराएका हुन् । सन् २०१७ भित्र घर निर्माण पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

साओ पाओलो राज्यको मोगिदास सहरमा यी घर निर्माण गरिने र यो नगरलाई  आवास नगरका रूपमा विकास गर्ने लक्ष्य छ । यो योजनाबाट ५ लाख परिवार लाभान्वित हुनेछन् । सरकारले न्यून आय भएका गरिबका लागि यसअघि नै आवासको व्यवस्था गर्ने घोषणा गरेको थियो ।

यसअघि पनि सरकारले यस्तो आवास क्षेत्रको विकास गरिसकेको छ । यस्तो योजनाबाट अहिलेसम्म १ लाख ७० हजार परिवार लाभान्वित भइसकेका छन् ।

राष्ट्रपति माइकेलले हालै एक औपचारिक समारोहलाई सम्बोधन गर्दै भने, “म यस वर्ष मात्र घर पाएका १ लाख ७० हजार र आगामी वर्ष घर पाउन लागेका ५ लाख परिवारलाई पनि बधाई दिन चाहन्छु ।”

ब्राजिल सरकारले सन् २००९ मा ‘मेरो घर मेरो जीवन’ नामक आवास कार्यक्रमको सुरुवात गरेको थियो । उक्त कार्यक्रमलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो । सरकारी तथ्यांकअनुसार यस कार्यक्रमबाट ब्राजिलका कम्तीमा पनि २ करोड २२ लाख नागरिक लाभान्वित भइसकेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया