३० प्रतिशत कर्मचारी अझै हाजिर भएनन् : रमाना बोकेर सिंहदरबार फन्को मार्दै

काठमाडौं ४ चैत्र

खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् । प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो । तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् । सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समयदेखि काम गर्दै आएका बढी छन् । नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभागलगायत कार्यालयमा काम गर्ने कर्मचारी प्रदेशमा गएर काम गर्न अटेरी गरिरहेका छन् ।

खटाएको कार्यालयमा २४ घन्टाभित्र पुगेर काम सम्हाल्न सरकारले निर्देशन दिएको थियो । तर, ती कर्मचारीले सुरुमा त रमाना लिनै मानेनन् । बल्लतल्ल रमाना लिए पनि प्रदेशमा हाजिर हुन अटेर गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनायो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

कहिलेसम्म पुग्नुपथ्र्यो कर्मचारी ?
सामान्य प्रकारको सरुवामा कर्मचारी खटाएको कार्यालयमा कम्तीमा ३५ दिनको समय पाउँछन् । सरुवा भएपछि साबिकको कार्यालयबाट रमाना लिएर बुझबुझारथ गर्न २१ दिन समय पाउँछन् । त्यसबाहेक पनि सात दिन बाटाको म्याद हुन्छ । ३५ दिनसम्म पनि हाजिर नभए सम्बन्धित कार्यालय प्रमुखले कारण सोध्न सक्छन् । रमाना लिएको ९० दिनभित्र पनि कार्यालयमा नपुग्ने कर्मचारीको जागिर नै जान्छ । त्यसो त, निजामती सेवा ऐन र नियमावलीले कर्मचारी सरुवा भएपछि पनि बिरामी बिदा लिएर बस्न सक्ने सुविधा दिएको छ । तर, सरकारले प्रदेशमा खटाएका कर्मचारीका हकमा भने यो सुविधा नदिने गरी निर्णय गरेको थियो । तोकेको २४ घन्टामै उपस्थित हुनुपर्ने हो ।

बिरामी खुरुक्क गए, पहुँचवाला यतै रोकिए
सामान्य प्रशासन मन्त्रालयले भर्खरै बढुवा भएका र एउटै कार्यालयमा लामो समयदेखि बसेका कर्मचारीलाई प्रदेशमा सरुवा गरेको थियो । यो सरुवामा बिरामी भई अस्पताल भर्ना भएकादेखि वर्षौँदेखि आकर्षक कार्यालयमा बसेका कर्मचारीसम्म थिए । बिरामी बरु तोकेको कार्यालयमा हाजिर भइसकेका छन्, तर आकर्षक कार्यालय हाँक्दै आएकालाई पाइला चाल्न गाह्रो भएको छ । ‘बिरामी कर्मचारीसमेत खटाएको ठाउँमा पुगिसकेका छन्,’ सामान्य प्रशासन मन्त्रालयका उपसचिव युवराज कट्टेलले भने, ‘आकर्षक कार्यालयबाट सरुवा गरिएकामध्ये केही कर्मचारी अझै प्रदेशमा हाजिर भएका छैनन् ।’

मन्त्रालय स्रोतका अनुसार आकर्षक कार्यालयमा बसेका, मन्त्री, मुख्यसचिव र प्रधानमन्त्रीसँग पहुँच राख्ने कर्मचारी अहिले सरुवा रद्द गराउने दौडधुपमा छन् ।

खल्तीमा रमाना बोकेर सिंहदरबार फन्को मार्दै
सामान्य प्रशासनले प्रदेशमा खटाएका कति कर्मचारी पुगे भन्ने विवरण संकलनका लागि सातजना अधिकृत खटाएको छ । ती कर्मचारीसँग सम्पर्क गरेर उनीहरूले विवरण संकलन गरिरहेका छन् । उक्त टोलीका अनुसार रमाना लिएका ३० प्रतिशत कर्मचारी प्रदेशमा पुगेका छैनन् । यीमध्ये ३३ जनाले बाटामै रहेको जवाफ दिएका छन् । कोही कर्मचारी भने खल्तीमा रमाना बोकेर सरुवा बदर गराउन सिंहदरबार फन्को मार्दै छन् । उनीहरूलाई अनुशासन उल्लंघनको कारबाही गर्न सक्ने भए पनि सरकारले आँट नगरेको मन्त्रालयको गुनासो छ । ती सहसचिव भन्छन्, ‘कर्मचारीलाई न प्रदेशमा जान रहर छ, न सरकारकै डर छ । अराजक कर्मचारीलाई दण्डित नगर्दा कर्मचारी प्रधानमन्त्रीभन्दा पनि बलिया देखिएका छन् ।’

अटेर गरे जागिरबाटै हटाइन्छ 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई सेवाबाटै हटाउने चेतावनी दिएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘कर्मचारीले कि जागिर खान्छन्, कि सेवाबाट बाहिर जान्छन् ।’ उनले खराब कर्मचारीप्रति आफूमा कहिले पनि दयामाया नआएको बताए । मन्त्री पण्डितले भने, ‘मलाई खराब कर्मचारीको कहिल्यै माया लाग्दैन ।’

उनले आइतबार कर्मचारी सरुवा भएको कति दिन भयो हेर्ने र साबिकको कार्यालयमा हाजिर बन्द गरिदिने बताएका छन् ।

मन्त्री पण्डितले ऐनमा भएका छिद्र देखाएर नबस्न पनि कर्मचारीलाई चेतावनी दिएका छन् । उनले आवश्यक परे फास्टट्र्याकबाट ऐन संशोधन गरेर भए पनि खराब कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया