नेकपाका २२ जनवर्गीय संगठन : कुन–कुनको नेतृत्वमा को–को ?

काठमाडौँ १० भाद्र
नेपाल कम्युनिस्ट पार्टीका २२ जनवर्गीय संगठनमध्ये एउटाको मात्र नेतृत्व घोषणा भएको छ । अरु ३ संगठनको नेतृत्वमा सहमति भए पनि घोषणा हुन बाँकी छ । सहमति हुन नसकेका संगठनको नेतृत्व भागबन्डामा (तत्कालीन एमाले र माओवादी) मिलाउने तयारी नेकपाको छ  ।

संयोजकका लागि संगठनका नेताहरू लबिङमा लागेका छन्  । कार्यदलले सहमतिमा नाम पठाउन नसकेपछि केन्द्रबाटै नेतृत्व टुंगो लाग्ने भएको छ  । ‘जनवर्गीय संगठनको संयोजकसहित पदाधिकारी, संगठनको नाम र झन्डा तलबाट टुंगो लगाएर पठाउन निर्देशन दिएको छ,’ नेकपाका स्थायी समिति सदस्य मणि थापाले भने– ‘तलबाट सहमतिमा टुंगो नलागेपछि अब शीर्ष नेताहरूले नै टुंगो लगाउनुहुन्छ  ।’

पार्टी एक भइसकेकाले भागबन्डा नभई सहमतिमा नेतृत्व टुंगो लगाइने थापाले दाबी गरे को खबर वीरेन्द्र ओलीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

अनेरास्ववियुमा ९ जनाको दावी

विद्यार्थी कार्यदलले प्रतिवेदन बुझाएपछि एकीकृत संगठन अनेरास्ववियुको संयोजकका लागि ९ जना नेता दौडमा लागेका छन् । तत्कालीन एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट उपाध्यक्षहरू रश्मि आचार्य, सुनिता बराल, सैलेश लामा, महेश बर्तौला र महासचिव ऐन महरले दाबी गरेका छन् । संघीय संसद्को सांसद भएपछि अध्यक्ष नविना लामा भने प्रतिस्पर्धामा छैनन् ।

यस्तै, तत्कालीन माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्ष रञ्जित तामाङ एकीकृत विद्यार्थी संगठनको संयोजकका लागि लबिङमा लागेका छन् । संगठनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, दीपक देवकोटा, पञ्चा सिंह र महासचिव उत्तम अधिकारीलगायतले पनि संयोजक दाबी गरेका छन् । तर, तामाङ नै बलियो दाबेदार देखिएका छन् ।

युवामा पौडेल र सापकोटाको दावी

युवा संगठनको अध्यक्षमा रमेश पौडेल र रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दाबी गरेका छन्  । पौडेल युवा संघ नेपालका अध्यक्ष र दीपशिखा वार्इसीएलका अध्यक्ष हुन् । दीपशिखा पार्टी केन्द्रीय सदस्य भइसकेकाले एकीकृत संगठनको संयोजक आफू हुनेमा पौडेल ढुक्क छन् ।

तर, दीपशिखाले पनि एकीकृत संगठनलाई उचाइमा पुर्‍याउन आफ्नो आवश्यकता रहेको बताएका छन्  । युवा कार्यदलमा नेतृत्व, संगठनको नाम र झन्डाको विषयमा सहमति हुन सकेको छैन, जसकारण कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।

मजदुरमा श्रेष्ठ र रेग्मीको दावी

मजदुरका विभिन्न विधाका उपसंगठनहरू भएकाले एकता गर्न सकस भएको छ । धेरै विषय मिल्न बाँकी रहेकाले मजदुर कार्यदलले अझै प्रतिवेदन बुझाएको छैन ।

तत्कालीन एमालेनिटक मजदुर अध्यक्ष विनोद श्रेष्ठ र माओवादी मजदुर अध्यक्ष गणेश रेग्मीले एकीकृत संगठनको संयोजक दाबी गरेका छन् । मजदुर संगठनमा तत्कालीन माओवादीको पकड भएकाले एकीकृत संगठनको नेतृत्व दाबी गरेको छ भने ठूलो पार्टी भएकाले तत्कालीन एमालेको दाबी छ ।

महिला नेतृत्वमा आ–आफ्नै दावी

महिला कार्यदलमा संगठनको नाम, नेतृत्व र केन्द्रीय समितिमा रहने सदस्य संख्याबारे सहमति भएको छैन । नेतृत्वका लागि महिला नेत्रीहरू लबिङमा लागेका छन् । संयोजकका लागि तत्कालीन एमालेबाट राधा ज्ञवाली, सीता पौडेल, गोमा देवकोटा तथा तत्कालीन माओवादीबाट उर्मिला अर्याल र अमृता थापामगर लबिङमा छन् । कार्यदलमा संगठनको नाममा सहमति हुन नसकेको कार्यदल सदस्य उर्मिला अर्यालले बताइन् ।

प्रेस संगठनमा ७ जनाको दावी

प्रेस संगठन नेपालको संयोजकका लागि ७ जनाले दाबी गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालका नेता संयोजकका लागि लबिङमा लागेका छन् । प्रेस चौतारीबाट पूर्वअध्यक्ष गगन विष्ट, अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल तथा प्रेस सेन्टर नेपालबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्षद्वय बलराम थापा, ओम शर्मा र महासचिव विष्णु सापकोटा ‘जुगल’ ले दाबी गरेका छन् ।

किसानमा वामदेवले चाहे अरूले छाड्ने

अखिल नेपाल किसान महासंघको संयोजकमा वामदेव गौतम, प्रेम दंगाल, केशवलाल श्रेष्ठ, हरिबोल गजुरेल र चित्रबहादुर श्रेष्ठको नाम चर्चामा छ । ‘वामदेव गौतम आफैँले इच्छा देखाएका छैनन्,’ एक किसान नेताले भने, ‘तर, पार्टीले गौतम हुनुपर्छ भन्ने अवस्था छ । त्योवेला अरू नेताले सजिलै मान्नेछन् ।’

दलितमा ३ जनाको दावी

नेपाल दलित मुक्ति संगठनको संयोजकका लागि तीनजनाले दाबी गरेका छन् । तिलक परियार, दलजित श्रीपाइली र बमबहादुर विश्वकर्माले संयोजकमा दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि तीनजनाकै नाम सिफारिस गरिएको छ । परियार र श्रीपाइली तत्कालीन माओवादी तथा विश्वकर्मा तत्कालीन एमाले नेता हुन् ।

बुद्धिजीवीमा पूर्वएमालेकै २ जनाको दावी

नेपाल बुद्धिजीवी संघको संयोजकका लागि प्रा।डा। गणेशमान गुरुङ र डा। दिनेशचन्द्र देवकोटा लबिङमा छन् । तत्कालीन माओवादी केन्द्रले संयोजकको अडान छोडे पनि तत्कालीन एमालेका देवकोटा र गुरुङले दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि दुवैको नाम सिफारिस गरिएको छ ।

जनसांस्कृतिकमा राई र सहयात्रीको दावी

जनसांस्कृतिक महासंघको संयोजकमा खगेन्द्र राई र सरल सहयात्रीले दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि दुवैको नाम सिफारिस गरिएको नेता मणि थापाले बताए । राई तत्कालीन एमाले र सरल सहयात्री माओवादीनिकट हुन् ।

मुस्लिममा दुई पूर्वअध्यक्षको दावी

मुस्लिम इत्तिहात मोर्चाको संयोजकमा पूर्वअध्यक्ष सराज अहमत फारुखी र अतहर हुसेनले दाबी गरेका छन् । फारुखी तत्कालीन एमाले र हुसेन तत्कालीन माओवादीटिकट हुन् । कार्यदलले प्रतिवेदन बुझाए पनि संयोजकको नाम भने सिफारिस गरेको छैन ।

कर्मचारीमा प्याकुरेल र खनालको दावी

राष्ट्रिय पेसागत महासंघ नेपालका संयोजकका लागि विश्वनाथ प्याकुरेल र प्रेमल खनालले दाबी गरेका छन् । कार्यदलमा नेतृत्व तत्कालीन एमालेनिकटले लिने र सहसंयोजक माओवादीले लिने सहमति भएको थियो । प्याकुरेल र खनालबीच सहमति नहुँदा नेतृत्व टुंगो लागेको छैन ।

मानवअधिकारमा शाही

मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल छानिएका छन् । शाही तत्कालीन एमाले र पोखरेल माओवादीनिकट हुन् । कार्यदलले सहमतिमा प्रतिवेदन बुझाए पनि एकता घोषणासभा हुन भने बाँकी छ ।

कानुन व्यवसायीमा नेपाल

नेपाल कानुन व्यवसायी संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस गरिएको छ । नेपाल तत्कालीन एमाले र पोखरेल माओवादीनिकट हुन् ।

इन्जिनियरमा श्रेष्ठ

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली छानिएका छन् । श्रेष्ठ तत्कालीन एमाले र पराजुली तत्कालीन माओवादीनिकट हुन् । २२ संगठनमध्ये इन्जिनियरिङ संगठनले मात्र एकता घोषणासभा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया