माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले बढ्यो

काठमाडौं०९ साउन २०७९ ।

माछापुच्छ्रे बैंकले खुद नाफा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा माछापुच्छ्रेले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेर ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेर ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेर १ अर्ब १६ करोड ३१ लख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेर ६ अर्ब ५६ करोड ८० लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ३.३१ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लख ५५ हजार रुपैयाँ, जगेडा कोष २२.९० प्रतिशत बढेर ४ अर्ब ६८ करोड ३९ लाख ३५ हजार रुपैयाँ, निक्षेप १०.१९ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ र कर्जा १३.२० प्रतिशत बढेर १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया